यो राजधानी हो कान्छा – स्यानु पाईजा
यो राजधानी हो कान्छा
तिमी पनि लेख्छौ रे हो ?
यो राजधानी हो कान्छा
लेख्नेहरुले सत्य लेख्दैनन
देख्नेहरुले सत्य देख्दैनन
पुस्तौ राजा धानेको
राज गर्नेलाई धानेको
यो राजधानी हो कान्छा
के लेख्छौ तिमी यहाँ?
धराने कालो बुँगुरको मासु
सेतो सुँगुरको मासु कसरी चिन्छौ
हरेक साईन बोर्डले
एक एक लाईन झुटो बोल्छन यहाँ
फ्रेशहाउसमा बेचिने ४५ दिने बोईलर झै
हतार छ यहाँ मान्छेलाई हुर्किन
एउटै घरले थुप्रै साईन बोर्ड बोके जस्तै
एउटै मान्छे ले अनेक रुप लुकाउछ यहाँ
साईनोहरु रात र दिन को फरक हुन्छन
प्रेमको अर्थ आज र भोलि फरक पर्दछ
यो राजधानी हो कान्छा
हल मालिकहरु सुपरहिट फिल्म बन्दैमा
जुनीभर कहाँ एउटै फिल्म चलाउन सक्छन ?
यहाँ फुलदानीहरु फेरिन्छन
गमलाहरु फेरिन्छन
माली र मालीक पनि फेरिन्छन
तिमीले सकेका कलम जस्तै
राजधानी त्यस्तै कलम हो
फरक फरक दिब्बा बाट
मसी भरेर चल्छन कलमहरु
त्यही कलमले पर्दाफास गर्छन
फलानो ठाउँमा मुसाको म:म:
फलानो ठाउँमा बुङ्गुरको दुध
यो राजधानी हो कान्छा
तिमीलाई मैले छिमेकी माने भने
तिमी नै नियत बिगार्न सक्छौ
सबैकुरा मैले बताए भने
मलाई नै राजधानी भन्न बेर लगाउदैनौ
यहाँ यस्तै भएको छ
कथा र मुलकथा मिसिएको छ
रिमेक गरिएका कथाहरु
भै रहेका छन बिमोचन हरेक दिन
मन्त्री र राजधानीका सम्मानित बाट
यो राजधानी हो कान्छा
हरेक कथामा राज हुन्छ
हरेक बोलीमा रहस्य
हरेक गल्लीमा भबिस्य
कुमारीहरु आमा बन्न मात्रै
नौ मिनेट लाग्छ यहाँ
आमा हरु कुमारी बन्न मात्र
नौ मिनेट लाग्छ यहाँ
तिमीले मन मनै सोचे हौला
आमा बन्न ९ महिना लाग्छ
यो राजधानी हो कान्छा
तिमीले पढेका किताबहरुमा जस्ता
छैनन यहाँ का सुत्रहरु
यो राजधानी हो कान्छा
तिमीले थुप्रै टिउसन पढ्नु पर्छ











