खोलेस , खोलाको फुल म र मुसा बजै – स्यानु पाईजा
खोलेस , खोलाको फुल म र मुसा बजै — स्यानु पाईजा
म बल्गर हुँ भन्ने कुरा मेरो सानी छोरीलाई थाहा भएछ। खै के मुड चल्यो कुन्नी खोलेस र खोलाको फुल कबिता लेखे। मलाई अरुले न चिने पनि मेरो आफ्नै छोरीले चाही त्यही कबिता बाट बाबा कबिता लेख्नु हुन्छ भन्ने थाहा पाएछ। सधै जसो बिहान को एकसरो काम सकेर केहि लेख्ने मुडमा थिए त्यो दिन। मेरो कबिता धैरैले पढ्दैनन भन्ने मलाई थाहा थियो। किन कि कबिता काम नभएकोहरुले लेख्छन भन्ने भावना नेपाली फिल्म राम्रो हुदैन भन्ने जस्तै सबैको मन मा राज गरेर बसेको थियो। लेख्नु त मलाई एउटा नाटक नै लेख्न मन लागेको थियो। तर समाय कम्ति र बिना पात्रको नाम बिना नै लेख्न सकिने कबिता बाहेक सजिलो मलाई अरु लाग्दैन थियो। खोलेस र खोलाको फुल पनि नाटक नै लेख्न लाग्दा लाग्दै कबिता मा लेखिएको थियो। पात्रहरु को चयन गर्दा गर्दै घामले चुली नाघ्थ्यो। यसरी नै धेरै दिन खेर गए पछि पुरानै ढाचामा कबिता मा के के मिल्नु पर्ने हो त्यो ख्याल नगरीकन बिस पच्चिस मिनेट मै लेखियो खोलेस र खोलाको फुल कबिता। खोलेस र खोलेसको फुल कबिता ठेट गाउँले भाषामा लेखिएको थियो।
कबिता मा मैले मेरो परिवार र बचपनलाई सम्झेको मात्र थिए। कबिता भित्रको पात्र कखुरी,मुसाबजै, आमा र म हो। ठुली दिदी को बिहे भए पछि हाम्रो घरमा मासु पाक्न बन्द नै भएको जस्तै थियो। म र दाजु बाहेक मेरो परिवार मा मासु खानेले खादैन थे। घरमा अरुले नखाने हुनाले मासु बिरलै पाक्थे हाम्रो घर मा म चार बर्ष को हुदाको कुरा हो। हाम्रो घरमा दुई माउ (चल्ला पार्ने कुखुरी) हरु थिए। हाम्रो घरमा पाक्ने मासु को जस्तै छिटो परिकार भनेको अमलेट मात्रै थियो कुनै समाय। भात पाक्दै गर्दा अण्डा भात पाक्ने टाउली (भाडो) मै उमालिन्थ्यो। उमालेको अण्डा खान पाउदा सबै भन्दा रमाईलो लाग्दथ्यो त्यो दिन। त्यो दिन कुनै पनि काम अह्राउन पर्दैन थ्यो अण्डाको तागत ले हामी २ भाईले सबै काम भाउथ्यौ। पानी भर्ने, कसिँगर लगाउने (बढार्ने), गोरूलाई पानी दिएको भड्डु भकारो बाट झिकेर ल्याउने र सफा गरेर पिडी मा राख्ने। त्यो दिन पनि एउटा माउले फुल परेको थियो अर्को माउले बच्चा कोरेलेको थियो। दक्का मा कोडो को चारो थियो। मिस्टिनमा ३-४ वटा फुलहरु(अण्डा) थिए। आज अण्डा पाक्ने दिन हो भनेर म भित्र फुर्ति पलाई सकेको थियो। साढे दुई लिटर जाने दुई वटा जर्किन देब्रे र दाहिने हातमा समाएर रेलेधारो बाट पानी ल्याएर आईसकेको थिए। कसिँगर लगाउनुलाई कुचो कहाँ छ खोजि सकेको थिए। गोरूले पानी खाएको भड्डु ट्वाङ्ग आवाज आउने गरी पिडिमा राखि सकेको थिए। तर जति खेर हेर्दा पनि अण्डा जस्ता को तस्तै थियो। पहिले कै ठाउँमा भात पाकि सकेको थियो। आमा ले कुरा बुझ्नु भयो स्यानु कान्छा लाई अण्डा खान मन लागेछ। फुलको रोटी पाक्ने पक्का भयो झङ्गा अगेना मा बसाईयो। भुटुन हालियो। अनि छिन मै बन्यो फुलको रोटी। दाई स्कुल गै सकेको ले एउटा फुलको रोटी एक्लै खाने कि दाईलाई पनि राखिदिने मन दोधार थियो। दाईलाई पनि राखिदिनु पर्छ भन्ने मन चाहि थियो। चरेशको तालमा फुलको रोटी राख्नु हुदैन भन्दा म आमा सँग रिसाए। त्यो चरेशको थाल असली थिएन रे। बाराबाला ले आमालाई चरेश भनेर तामा मिसिएको थाल बेचेर गएको रहेछ। आमा भन्नु हुन्थ्यो। छिटो क्वापै खा त्यो थालले टमटमाउछ। घर पहिलो स्कुल हो मैले धेरै कुरा सिकि सकेको थिए। लफाउछ भन्ने जानेको थिए तर टमटमाउछ भन्ने चाही आजै सुनेको थिए। टमटमाउछ भनेको के हो आमा सोध्नै लागेको थिए मुसा बजैले अण्डा भएको मिस्टिन समातेर उहाँको घर जानु भयो। मेरो ध्यान मुसा बजैले लैजान लागेको अन्डा पछि लाग्यो अनि दिमागले लफाउछ र टमटमाउछ भन्ने एउटै होला भनेर दाईलाई राखि दिएको फुलको आधा रोटी पनि एकै गाँस मा मुख भरि हुने गरी खाए। दिउसो प्राय म मुसा बजै सँग खेल्ने हुनाले दिन मा पनि अण्डा नै खान पाउने पक्का जस्तै भएको थियो। बजै ले सघै जस्तै ढलोट मासुको पकाउने बौना मा पानी उमाल्नु भयो र एउटा फुल उचालेर हल्लाउनु भयो। यो तेरो भन्दै बौना भित्र हाल्नु भयो। यो मेरो भाग्यभए मेरो नत्र कुकुर को भन्दै अर्को फुल पनि बौना मा हाल्नु भयो। अण्डा पाके पछि बोक्रा खुल्साएर सिगो अण्डा मलाई दिनु भयो र अर्को अण्डा आफुले खानु भयो त्यो मैले खाएको अण्डाको तुलना मा कम्ति आकार को थियो। दोस्रो दिन पनि त्यस्तै गरि अण्डा खायौ त्यो दिन पनि बजैले खाने अन्डा को साईज अलि स्यानो थियो। दोस्रो दिन पनि उस्तै लगभग आधा अण्डा जस्तो देखे पछि मैले बजैलाई सोधे यो अण्डा किन ? कम्ती (स्यानो) पछि बजैले भने पछि थाहा भयो यो खोलाको फुल रे। खोलाको फुल भन्दा मैले पनि खोला मा भेटिएको फुल नै होला भनेको थिए। जसरी मेरो स्यानो छोरीले खोलाको फुल के हो ? भन्ने प्रश्नको जवाफमा खोला मा फुलेको फूल भनेको थियो रे। खोलाएको फुल (खोलाको पुल) खोलाएको फुल भए पनि बोल्ने बेला मा ए हराएर खोलाको फुल उच्चारण हुने रहेछ। खोलाएको फुल भनेको माउ (कुखुरी) अण्डालाई २२ दिन सम्म खोलेस (गुड) मा ओथारो बसेर चल्ला बन्न नसकेका भाले नलागेका फुल रहेछ। सबै अण्डा बाट बच्चा न निस्किनु मा थुप्रै कारण हुने रहेछ। बच्चा बन्नुलाई भने जति तापमान माउले पुराउनु न सक्नु। अण्डाको सँख्या कुखुरीको छमता भन्दा बढि हुनु।भाले नलागेको अण्डा हुनु आदी कारणहरु रहेछन।
अर्को हैरानी मलाई तव भयो जब मैले यो खोलाएको अण्डा उसिनेको खान खोजे त्यतिखेर भनियो यो तिमीले खानु हुदैन। त्यति बेला सम्म म अलि जान्ने भै सकेको थिए। मेरा दुधका दाँत झरि सकेका थिए। मेरो (छेबर) बर्तबन्धन भै सकेको थियो। त्यति बेला मैले खान नहुने कुरा बजैले किन खान मिल्छ ? भन्ने प्रश्न गर्ने र बुझ्ने भै सकेको थिए। मैले खान नै कर गरे पछि बल्ल मुसा बजैले मुख खोल्नु भयो त ठुलो भएर लाहुरे बन्ने मन्छी खोलाको फुल खायो भने दौडमा पेट कराउछ। भर्ति हुन सक्दैनस। मलाई हाम्रो समाज र चलन हरु देखेर त्यो बेला नै रुन आयो। असक्त बुढि बजै जस्लाई हामी खोलाएको फुल खुवाउछौ। तन्दुरुस्त बच्चा जस्लाई हामी ताजा अण्डा खान दिन्छौ। मुसा बजै मेरो आफ्ने बजै होईन। मेरो बाबा को फुपु पर्ने रे । घरकै फुपु पनि होईन। मुसा बजै र म निकै मिल्ने भै सकेको थियौ। आगन मा सुकाएको गुन्द्री घाम बुरे (दुबे) पछि उठाएर भित्र लगि दिने। पानी पर्दा लुगा उठाउन बजैलाई कराउने भैसकेको थिए। बिस्तारै बजैलाई म ठुलो भएको मा चिन्ता थियो। कहिले कहि आमालाई भन्नु हुन्थ्यो। माईली यो चोटी माईला आयो भने त अझै एउटा नानी पाउ । मुसा बजैलाई डर थियो कि दाई जस्तै म पनि ठुलो भए भने बजैको नजिक खेल्ने छैन र एक्ली पर्ने छु।
समाय बित्दै गए पछि मैले बजै को बारे मा जान्ने कोशिस गरे बजै किन ? एक्लै बाजे खै ? बजैका छोरा छोरी, बजै को नाम किन मुसा बजै आदी ईत्यादी। बाजे पनि पल्टने रे। एउटा छोरी जन्मे पछि कुन चाहि लडाई मा मारिएको रे । बजैको एउटी छोरी को पनि छोरी जन्मेर छोरी को पनि हाम्रै गाउँ मा बिहे भैसकेको रहेछ। बजैलाई मुसा बजै किन भनिएको रे भन्दा मुसा बजै को अन्नपात पनि थुप्रै थियो रे त्यो बेला। बाजे बित्नु भयो। छोरी को बिहे भयो। अन्नपात भएको ले मुसा पनि तन्नै लाग्थे रे बजै को घरमा । एक दिनको हिउद गाउँकै केटाकेटीहरु अगेना मा आगो तापेर बसेका थिए रे बजै को घरमा। ताला मा मुसाले चिचि चु चु को हल्ला मच्चाउन लागे रे केटाकेटीहरु ले मुसा भगाउने बिरालो पाल्ने, साँचो थाप्ने जस्ता तरिकाहरु बजैलाई सुझाएछन। बजैले मान्नु भएन रे। यो मुसाले खाए पछि पनि मलाई खान पुगेकै छ किन मार्ने बिचरा लाई। बजै को यो कुरा सुने र केटाकेटि हरु खितमारी हाँसे रे। अनि यो कुरा एउटाले अर्को लाई भन्यो अर्कोले अर्कालाई खबर गाउँ भरि फैलियो। बजैको घरमा मुसा छ। बजैले मुसा मार्नु मानेन भन्दा भन्दै कसैले बजैको नाम नै मुसा बजै राखि दिएछ। हामी पनि मुसा बजै नै भनेर बोलाउथ्यौ। बित्तारै बजैका खराब दिनहरु शुरु हुन्छन। बल बैश कम हुन्छ। देवरहरु को अँश बन्दा हुन्छ। छोरी मात्र भएको भनेर जिउनी को दुई सुर्का जग्गा बाहेक सबै अव उनको हुदैन। त्यो जमिन को उत्पादन ले बजैलाई खान पुग्दैन। बजैको काम हिउद सुरु हुदा खेरी पुवा (अल्लो, सिस्नो) को पुवा निकाल्ने रे धागो बनाएर भाङग्रो बुन्ने र अरु धान बोक्ने बोरा बुन्ने हुन्छ। एउटा बोराको कति पर्दथ्यो थाहा भएन। बोरा पुरा भएको दिन बजैले नसोधीकन, नबोलिकन हाम्रो जाँतो माथी छोडेर जानु हुन्थ्यो। आमाले चामल, पिठो कति दिनु पर्ने हो डालो मा हालेर बजै को घरमा छोडेर आउनु हुन्थ्यो। बजैले माईलिले कम्ती दिई भनेको मैले सुनेन र हाम्रो मा बाहेक बजैले अरुलाई बोरा बनाई दिएको थाहा पनि पाएन। भाङ्गरा भने बनाएर राखिएको हुन्थे जस्लाई जरुरी छ उनीहरु आएर किनेर लैजान्थे। भाँङग्रा बिकेको दिन हामीले गडेयौला (लामो सिंके चाउचाउ) खाम आजा भन्नु हुन्थ्यो। समाय यति छिटो छिटो दौडियो आँगनमा भिम खिच्ने र सेटअप हान्ने सरजाम देखेर बजैले भन्नु हुन्थ्यो। आबे आबे जेठा पनि कति छिटो लाउरे हुने ठिटा भए छ। मलाई पनि स्यानै बाट सिक भनेर उक्साउनु हुन्थ्यो। मेरो देब्रेहात मा आसी (हसियाँ) ले सोत्तर कात्ने बेलामा चोट लागे पछि बजै नै हो सबै भन्दा चिन्ता गर्ने। हात बिगार्यो लाहुरे हुन्न कि क्या हो। बेला बेला मा सिस्नु को जरा कुटेर डल्ने देखी, मुसा को लिड पिसेर लगाउने सम्म को घरेलु उपचार खुबै गर्नु हुन्थ्यो मेरो हात को तात (डाम, खत) मा । आखिर मेरो पनि अरब को ढोका खुल्यो। अरब को लाहुरे। बजै ले जाने को फाल्टुक (फाल्तु) को लाहुरे। त्यो समाय मा पेन्शन पाउने जागीर लाई लाहुरे र दिल्ली तिर काम गर्नु जाने लाई फाल्टुक को लाहुरे भनिन्थ्यो। तर हाम्रो पाला मा आउदा सम्म अरपे (अरब) भन्न सुरु गरिसकिएको थियो। फोन थिएन, चिठीमा कसैले भनेन। उन्नतिस महिना अरब मा बसेर आउदा बजै बिति सक्नु भएको थियो। पुवा को भाँग्रा र मुरी जाने बोरा (थैलो) बाहेक बजैको थाम मा एउटा पुवा को गल्बन्दी थियो। बेला बेला मा मैले पक्कै बजैले बाजेलाई बुनि दिएको हुनु पर्छ भन्ने अनुमान लगाउथे।
सायद बजै जिउदै भएको भए गड्यौला खाम भनेर सिन्के चाउचाउ बजै नातीले खाईन्थ्यो होला। म अरव बाट फर्केको हप्ता।
( यस कथा मा प्रयोग भएका वाखेत डाईलेक्ट- निम्न छन )
- खोलेस- कुखुरीले अण्डा पारेर चल्ला निकाल्ने गुँड
- खोलाको फुल- कुखुरीले ओथारो बसे पछि चल्ला नबनेको अण्डा
- माउ- कुखुरी
- पुवा- अल्लो, रेसा निकाल्नु मिल्ने सिस्नु
- जर्किन – पानी बोक्ने पलास्टिक को जार
- भड्डु- भाँडो, पिध ठुलो, धाँटी स्यानो भएको ठुलो भाँडो)
- बौना- लोटा, पानी खाने भाँडो
- घाम बुर्नु- घाम अस्टाउनु
- टमटमाउनु- तामा या पित्तलमा नुन राख्दा हुने प्रतिकृया बाट त्यहा राखिएको खाना को स्बाद मा परिबर्तन आउनु।
- लफाउनु – छल कपट गर्नु
- जिउनी- अँश बण्डा पछि परिबारका बृद्व सदस्यले भोगगर्न पाउने जग्गा
- सुर्का- मुस्किल ले जोत्न मिल्ने बारी
No comments yet.











