Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

लमजुङको मेमेपोखरी यात्रा गर्नुहोस – बिनिता दाहाल लेख

विनिता दाहाल- मानव हिँडाइको अवशेषमात्रै पनि कतै नदेखिने वनपाखा र भीरमा पाइला कोर्दै हामी अघि बढ्यौं। एकहप्ते यात्रा खासै लामो होइन। तर गरुन्जेल असाध्यै कष्टपूर्ण। अविरल झरी र चट्टानका बाटा हिँड्नु कम चुनौतीपूर्ण भएन। हिँड्दा-हिँड्दै मनले फर्किउँ कि फर्किउँ नभनेको पनि होइन। विभिन्न तर्कना गर्दै हिँड्नु मज्जा हो तर यहाँ त्यो अवसरलाई जुकाले बिथोलिदियो।

लगातार जिउका कुनकुन ठाउँमा जुका लागिसक्छन्। जति जोगिँदा पनि कहाँबाट ती टाँस्सिइसक्छन्, पत्तै नहुने। केही दर्जन झिकेपछि मैले ‘ह्या कति मात्रै झिक्नु’ भनेर तिनलाई वास्ता गर्नै छोडिदिएँ। अहिले तिनले डसेका आला घाउले हातलाई त्यतै मात्रै एकत्रित गरिरहेछन्। उनीहरूले रजाइँ गरेका ठाउँमा भएका टाटाका चिलाइ नै मर्दैन।
….
लमजुङको मेमेपोखरी यात्रा। हामी ९ जनाको टोली। हिँडेर यात्राको मज्जा लिनु सबैको नियत हो। तर, यहाँ मज्जाभन्दा बढी गन्तव्य पुगेर फर्किनु नै मुस्किल छ। जति नै व्यग्र भए पनि हामी अड्कलेको समयमा कहिल्यै गन्तव्य पुगेनौं। तीन घन्टा अड्कलिएको बाटोमा हामीले आठ घन्टासम्म लगायौं। नलागोस् पनि किन, आफूभन्दा अग्ला हलक्क बढेका झारलाई लौरोले पन्छ्याउँदै बाटो कोर्नुपर्ने। तीबीच पानीबाट जोगिन ओढेका प्लास्टिक समेट्नुपर्ने, जुका र चिप्लो बाटोबाट जोगिनु अर्को झन्झट।

लमजुङमको मेमोपोखरी

यात्रामा फरक भूगोलका फरक कथा बोकेका मानिस भेट्नु, उनीहरूको दिनचर्या नियाल्नु र त्यसमै आफूलाई केही घन्टाका लागि भए पनि अभ्यस्त बनाउनु यात्राको अर्को रमाइलो पाटो हो। हामीले त्यस्ता थुप्रै मान्छे भेट्यौं जसले यात्रालाई सम्झनयोग्य बनाइदिए।
….
दिनभर उकालो मात्रै चढेर हामी हिँउचुली गाउँ पुगेका छौं। दुईजना सुत्न पनि मुस्किल गोठमा हामीले शरण माग्यौं। चिसो सिरेटोमा त्यो डाँडाको टुप्पोमा उभिएर बाहिरी वातावरण हेरिरहने ताकत पनि छैन।
भोलिपल्ट पूर्वी पहाडको कापबाट सुन्तला रङको घाम आफ्नो स्वरुप निलो आकाशमा फिँजार्दैछ। यता त्यही घामको पारिलो खोज्दै कृष्णबहादुर गुरुङ सखारै थुन्चे बुन्न गोबर र पानीले हिलाम्मे आँगनमा टुक्रुक्क बसेका छन्। वर्षभरमा यी गोठाले दाइको तीन महिना पहाडको यही थाप्लोमा बित्छ। यहीँ वरपरका निगालो बटुलेर उनी डोको, नाम्लो, थुन्चे, भकारी, मान्द्रो बनाउँछन्। फर्केर गाउँमा त्यही बेच्दा छ महिना उनको जीविका चल्छ।
उनीसँगै गाई पालेर बस्छिन् मिश्री गुरुङ। उनीहरू श्रीमान-श्रीमती होइनन्। तर, ठाउँ अभावमा गोठ नहुँदा गोठाला जीवनमा उनीहरू सँगै बस्छन्। लेकका यस्ता कुरालाई बेसीमा वास्ता गरिँदैन। उनीहरूको गोठाले जीवन झट्ट हेर्दा मलाई दुःखी लाग्छ।
‘आफ्नै लागि गरेको त हो,’ कृष्णबहादुरले थुन्चेबाट शिर उठाउँदै भने, ‘जति दुःख गरेँ भने पनि अब जीवन गइगयो। कति न बाँचिएला र!’
उनको प्रतिप्रश्नमा म अवाक भएँ। उनको पृष्ठभूमिमा आकाश बादलमा तैरिरहेको छ। यस्तो मोहक बादलु गाउँ मैले महाभारत, रामायणजस्ता धार्मिक सिरियलमा मात्रै देखेको थिएँ। मलाई भगवानको गाउँ देखेजस्तो लाग्छ यस्ता ठाउँ हेर्दा। उनी एकसुरमा काम गरिरहन्छन्। कस्तो निश्चल, निस्कपट गाउँले। तछाडमछाडको जिन्दगीमा होमिएका हाम्रा लागि उनीहरूको सरल र सहयोगी जीवन गतिलो पाठ हो।
….
रातभर हुरी चलिरह्यो। आँखामा निद छैन। धुवाँ र चिसो सिरेटोले श्वासप्रश्वास बढेको बढ्यै छ। अघिल्लो दिन कोम्रो डाँडाको कठ्यांग्रिदो जाडोले मलाई निस्लोट ज्वरोले थलाएको छ। आँखा र खुट्टा दुवै सुन्निएका छन्। न्यानो पाउन भेडाको छातीमा खुट्टा लुकाउनुपर्छ। पाप नलागोस्। मेमेपोखरी मेला भर्न पुगेका गुरुङ बहिनी रातभर मेरो खुट्टा समाएर बसेका छन्। निस्पि्कक्री दुखेको घुँडालाई मैले ठाउँ नपुग्दा सिधा पार्नसमेत सकेको छैन।

जनैपुर्णिमा मेला भर्न हिँडेका तिर्थालु।

धार्मिक पर्यटकको वर्चश्व हुने मौसममा गाउँले चाँडो पुगेर बर माग्ने ध्याउन्नमा रातभर निदाउँदैनन्। पोखरीमा पहिला दर्शन गर्नेले मागेजस्तै बरदान पनि पाइने मान्यता छ।
४२०० मिटर उचाइमा भेडीखर्क पुग्ने यात्रुलाई गोठकै बास पाउन पनि हम्मे पर्छ। माथि निलो खुला आकाश, यताउता नांगा डाँडामा चरिरहेका सयौं भेडा र तल घाँसे मैदानबाहेक केही नभएको ठाउँमा भेडीखर्कबाहेक ओत लाग्ने र रात बिताउन अरू के विकल्प हुनसक्छ? छानोबाट दर्किएको पानी पिउनु, चुरो नमरेको चामलको भात र भेडीको दूध।
हाम्रो केही दिनको भोगाइ हो यो। वर्षौंदेखि यही दैनिकी छ यहाँका गोठालाको। एक रात बिताउन हामीले के गुनासो गरिरहनु! गोठालाको बाध्यता भए पनि हाम्रो सचेत छनोट थियो त्यो यात्रा।
कहिले त बरै राजसी लाग्छ यो प्यारो जीवन
कहिले त बरै जेल नै लाग्छ यो दुःखी जीवन
६० वर्ष लामो भेडीगोठको अनुभव यही दुई हरफमा टुंग्याए इमानसिंह गुरुङले। बुवाले खर्कमा सयौं भेडा लिएर उकालो लाग्दा उनी बल्ल १२ वर्षका थिए। बाबुले छोडेर गए। भेडाले मुखमा माड लगाउने केही जोहो गरिदियो। उनको अनुहारका छाला उमेरले खुम्चिन थाले। तर दैनिकी फेरिएन। बर्सेनि जनैपूर्णिमाको समय उनलाई आफू राजासरह अनुभव गर्छन्। मुस्किलले १० जना बस्न पुग्ने गोठमा सयौंलाई पकाईतुल्याई खुवाउँछन्। भेडालाई मायाले हेर्दै पोहोरभन्दा यति संख्या बढेको सुख बाँड्छन्।
वर्षको तीनमहिना दर्जनौं भेडी लिएर लेक लागेका बुढापाका। आखिर मानिसलाई के कुराले यति धेरै दुःख गर्न प्रेरित गर्छ? मेरो मनले सोचेको कुरा यो। भोग्नेलाई चाहिँ यही नै जीवनको एउटा सुख लाग्दोरहेछ।
‘पुर्खाले देखाएको बाटो न हिँडेका हौं,’ इमानसिंहले भने, ‘छोरानातिले के गर्छन् तर हाम्रो प्राण यहीँ खर्कमा सिद्धियोस्।’
पर्यटकलाई दिनमा अगेनाको तातो र रातमा छहारी दिने उनलाई वर्षमा एकपटक भेट्न बेसीबाट आउने केही अन्न बोकेर आउँछन्।

कृष्णबहादुर गुरुङ डोको बुन्दै।

….
लमजुङको मेमेपोखरीलाई गन्तव्य बनाएर यात्रामा निस्केका हामीले प्रकृतिलाई आँखाले भन्दा बढी शरीरले स्पर्श गर्न पायौं। अविरल दर्किरहेको वर्षा र आकाशमा लरबराइरहेको हुस्सुले हाम्रा आँखालाई प्रकृतिको कमै आनन्द लिन दिएका थिए। मेमेपोखरी पुग्ने दिन भेडीखर्कको आधा घन्टा उकालो छिचोल्दै हामीले पूर्वमा चम्किलो बौध हिमाल देख्यौं। यति नजिकबाट हिमाल देखेका हामी फोटो खिच्ने होडमा छौं। ओरालो तेस्रो बाटो हिँड्दै मेमेपोखरी पुग्न आठ घन्टा लाग्यो।
चार हातखुट्टा टेकेर जुका, जाडो र पहाडसँग पैंठेजोरी खेल्दै उकालो लाग्यौं। नेपालका उत्कृष्ट पदमार्ग यात्रा गरेका अनुभवीले पनि यत्तिको गाह्रो पदयात्रा नगरेको अनुभव सुनाए। तर त्यो सबै कष्ट हामीले मेमेपोखरी टेकेकै दिन मेट्यौं। हिमालबाट सोझै बगेको पानीमा नुहाउँदा कस्तो चंगा भयो जिउ! हामीले नुहायौं, पूजा गर्‍यौं र स्थानीयले जस्तै ढुंगाको मन्दिर बनाएर वरदान माग्यौं।
पोखरीको सतहमा तैरेका छन् घाँसे मैदान। मेमेपोखरी (४८००मिटर) ले मलाई दुईवर्ष अघिको गोसाइँकुण्डको झझल्को दियो। सफा, कञ्चन उस्तै मोहक प्रकृति। फरक मात्र पर्यटकको। प्रचारप्रसारले गोसाइँकुण्डलाई व्यवस्थित बनाउँदै ल्याएको छ। तर, त्यति नै मोहक मेमेपोखरीबारे लमजुङेबाहेक अरूलाई थाहा छैन। हिँड्ने बाटो छैन, खाने अन्न पाइँदैन र बास गुरुङकै कृपाले मात्रै पाइन्छ। व्यवस्थित गर्न सक्ने हो भने धेरै पर्यटकीय सम्भावना बोकेको छ यो ठाउँले।
मेमे अर्थात तामाङ भाषामा सबैभन्दा ठूलो। लमजुङ जिल्लाकै सबैभन्दा ठूलो पोखरी मानिन्छ मेमेपोखरी। यहाँ सफा निश्चल मनले हेरे शिवकुण्ड देखिने स्थानीयको विश्वास छ। यो पोखरीको पानीलाई कमैले हेरेका छन्, छोएका छन्। वर्षमा मुस्किलले पाँच सयले दर्शन गर्लान्।
गुरुङहरू आफ्ना इष्टदेवतै मान्छन् मेमेलाई। ३१ वर्षदेखि लगातार तीन दिनको बाटो हिँडेर मेमेको दर्शन गरेका जशबहादुर गुरुङ आफ्ना हरेक मनोकांक्षा जलकन्यादेवीले नै पूरा गरेको ठोकुवा गर्छन्। ‘मैले ३१ वर्षअघि वर मागेकै वर्ष मेरो छोरो भारतीय सेनामा भर्ति भयो,’ उनले भने, ‘त्यसयता मलाई यहाँ भगवानको बास भएको विश्वास छ।’
धेरै भेडाबाख्रा बढुन्, छोराछोरीको प्रगति होस् र नातिनातिनाले धेरै पढुन् भन्ने आशा राखेका थिए उनले। भयो पनि त्यस्तै। उनले बर मागेकै वर्ष उनलाई आफ्ना दुःखका दिन घटेको अनुभव भएछ। यो विश्वास उनलाई मात्रै होइन, लमजुङका धेरै गुरुङ बस्तीमा छ। त्यसबाहेक मेमेपोखरीको महत्व कमै पर्यटकले बुझेका छन्।
कहिले धुम्म परेर बादलले ढाक्छ, कहिले त्यो बादल पानीको सतहबाट माथि आकासिँदै जाँदा यात्रुको मनै कुत्कुत्याउने गरी निख्खर निश्चल पानीले मन भरिएर आउँछ।
मेमेपोखरीमा अघिल्लो वर्ष उनकै मूर्तिकार ज्वाइँले चितवनदेखि जनकन्यादेवीको मूर्ति ल्याएर सानो मन्दिर बनाए। यो वर्ष जनकन्यादेवीलाई साथी शिवको मूर्ति पनि लगे। यसैगरी स्थानीयले नै प्रवर्द्धन गरे बिस्तारै पर्यटकले यो ठाउँको आशिष पाउने अपेक्षा छ जशबहादुरको। ‘यो ठाउँमा मान्छे हिँड्ने गोरेटो खुलेर सुविस्ताले मान्छे आएको हेर्न पाउने आस छ,’ उनले भने, ‘त्यत्ति हेरेर मर्न पाए मर्नुको पछुतो हुन्थेन।’
गोठाला इमानसिं गुरुङ।

धार्मिक विश्वास एउटा कुरा। प्रकृतिले कति धेरै सिँगारेको छ मेमेपोखरीलाई। मेमेमाथिको बौध हिमाल प्रकृतिको परिवर्तनसँगै तैरिरहन्छ। त्यो नभए सतह छोपेको कुहिरीमण्डल हुस्सु बिस्तारै बाफिँदै जान्छ। पानीले छिनछिनमा रंग बदल्छ। पश्चिम उत्तरमा चौडा ठूलो पोखरी दक्षिण पूर्वमा बिस्तारै ठूलो खोलाको आकार लिँदै जान्छ। पोखरीको लम्बाइ चौडाइ ठ्याक्कै यकिन गर्न नसकिए पनि आँखाले भ्याएसम्म पानीको सतह देखिन्छ। कति कञ्चन पानी! यो पोखरीलाई सुधार्न सक्ने हो भने यहाँ आसपास बसेर ध्यानमा मग्न हुन रुचाउनेका लागि उत्कृष्ट ठाउँ हुनसक्छ।
मेमेपोखरीबाट ४५ मिनेट हिँडाइमा दधिपोखरी आउँछ। त्यहाँ त साउन महिनामा पनि हिँउ खेल्न सकिन्छ। मेमेपोखरीको अनुपातमा दूधपोखरी सानो भएपनि प्रकृतिले बिछट्ट सुन्दर बनाएको छ। दूधपोखरीको ५३०० मिटर उचाइबाट तलका मेमेपोखरी, तरबार पोखरी र अन्य दुई कुण्ड देखिन्छन्। तर, प्रकृतिको यस्तो अनुपम आनन्द दिने ठाउँबारे धेरैलाई हेक्कै छैन। मनमा कस्तो थकथकी लाग्यो। यात्रा जति नै कष्टपूर्ण भएपनि पोखरीको दर्शनपछि मैले आफूलाई भाग्यमानी ठानेँ।
बिहान पाँच बजे उठेर निस्किँदा हामीलाई मेमेपोखरी पुग्न आठ घन्टा लागेको थियो। बेलुकी त्यही गोठमा नपुगे रात छिचाल्ने ठाउँ छैन। भीरैभीरको बाटोमा अलिकति खुट्टा डगमगाए लास भेटिन मुस्किल छ। हामी साँझमा बाटोमा हरायौं। भरिया दाइहरू हामीलाई तातो पानी बोकेर लिन पुगेछन्। रक्सीको बोटलमा हालेको तम्तमिलो पानीले घाँटी भिजायौं। गोठमा पुगेपछि सहयात्री च्वाइस ह्युम्यानिटेरियनका किरण न्यौपानेले भने, ‘धन्न घर फर्किन लेखेको रहेछ!’
रातभरको निस्लोट ज्वरो र अघिल्लो दिनको लगातार तेह्रघन्टे हिँडाइले मलाई निस्पि्कक्री थकाएको थियो। पानीसम्म पनि पिउने मन थिएन। भोलिपल्ट घर फर्कने पाइला हामी बढाउँदै थियौं। किरण दाइले केही नभनी गोठबाट निस्किँदा मेरो खल्तीमा पेस्ता र छोगडा हालिदिए। त्यो दिनको ९ घन्टे यात्रा मैले त्यसकै भरमा गरेँ। पहाडमा खुट्टा लगलग कामे, टाउको रनन्न हुन्थ्यो तर बाटो जसोतसो काटियो।
सबैभन्दा कुल थिए नेपाल पर्यटन बोर्डका सुदन सुवेदी। जस्तै बाटोमा पनि उनको गति उस्तै। ‘खै, मलाई खास गाह्रो पनि भएको छैन,’ उनले भने, ‘सजिलो हुने त कुरै भएन।’ 
दैलुङमा खाना खाएर उकालो लागेको पहिलो दिन मकैबारीको माझबाट दिउँसोको चर्को घाममा हिँड्दा सबैलाई उस्तै सकस पर्‍यो। सुदन दाइको बोटल र चुइङगमको प्याकेट झरेछ। उनले जानीजानी त्यो टिपेनन्। ‘उक्लिसकेको पाइलो फेरि कसरी फर्कनु!’ उनको जवाफले हामी सबै खित्खितायौं।
सुरुवाती दिनमा निकै थकथकी माने पनि पछिल्ला दुईदिन हाम्रा लागि आफूआफूमा परिचय बढाउनु, एकअर्काबारे थाहा पाउनु रोचक बन्यो। शरीरले थकानलाई अभ्यस्त पार्न थालिसकेको थियो। दिनभर हिँडेर अगेनावरिपरि आगो ताप्नु, घुँडासम्म भिजेको पेन्टका मोता सेकाउनु, जुत्ता तताउनु र आफू तात्नु बिहान-बेलुकाको काम नै बनेको थियो। टेन्ट लगेपनि म र दिदीले अगेनाको छेउ छोडेनौं। हाम्रो हालत देखेर यात्राका संयोजक चिन गुरुङले आफू भुइँमा सुतेर भए पनि हामीलाई गुन्द्री दिए।
यात्राको अन्तिम रात हामीले ३२०० मिटरको बराहपोखरीमा बितायौं। दालमोठ-चिउरा बेलुकीको खाना बन्यो। यात्राभरको सबैभन्दा मिठो खान्की त्यही भएको निष्कर्ष निकाले सबैले।
रुखले ढाकेको पोखरीको आकारलाई वरिपरिका घाँसले साँघुरो बनाउँदै गएको छ। वरिपरि पहेँलै फूल फुलेको। दक्षिण र पश्चिममा आधा दर्जन हिमाल लामबद्ध छन्। बिहानी प्रहरमा बराहपोखरी कति मोहक देखिएको! वरपरका रुख, पहाड र हिमाल सर्लक्क तैरिरहेका छन्।
फर्किने दिन भरिया दाइले बाटैभरि आफ्नो भिन्न हाँसो सुनाए। जति हिँडे पनि ओरालो नसकिने बाटोमा उनले बाटो भुल्नेलाई खुच्चिङ भन्दै, निउरोको रुख चढेर फल झार्दै हामीलाई रमाइलो बनाइरहे।
‘राम्रा केटी बिहे गर्न हुँदो रहेनछ,’ यात्रुमाझ आफ्नो बहुचर्चित हाँसो लुकाएर उनले भने, ‘अर्काले लगिदिइहाल्यो।’
नाम सोध्यो कि ठूलो स्वरमा हाँसेर प्रतिक्रिया दिने दैलुङका ती गुरुङ दाइले तीन बिहे गरेछन्। सबैले बिहे गरेको वर्षदिन नबित्दै छोडिदिए। अब उनको सोच एकदम नराम्री केटी बिहे गरेर घरबार गर्ने छ।
….
फर्किंदा हामीले लमजुङका गाउँगाउँमा फस्टाउँदै गरेको होमस्टेमा खाना खायौं। हप्तादिनदेखि खाने कुराले खरिएका हाम्रो आँत माँझगाउँका गाउँलेले ताजा काँक्रो र भैंसीको बाक्लो मोहीले भरे। घरेलु वातावरणमा आँगनवरिपरि बसेर खाइयो खाना। त्यसको स्वाद अझै बिर्सेको छैन।

Advertisement

August 25, 2011 - Posted by | कबिता

No comments yet.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.